काठमाडौं / सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यको तुलनामा १९.११ प्रतिशत मात्र हो।
जब कि कात्तिकसम्म सरकारको चालू खर्च दुई खर्ब ८१ अर्ब रुपियाँ नाघेको छ । यस हिसाबले चालू खर्चकै लागि १३ अर्ब रुपियाँ राजस्व अपुग देखिएको हो । कात्तिकसम्म सङ्कलित राजस्वमध्ये दुई खर्ब ४५ अर्ब ७८ करोड रुपियाँ कर राजस्व शीर्षकमा रहेको छ । गैरकरतर्फ समीक्षा अवधिमा २२ अर्ब २८ करोड रुपियाँ उठेको छ। यसबाहेक सरकारले अनुदानमार्फत तीन अर्ब ४१ करोड प्राप्त गरेको छ । अन्य प्राप्ति तर्फ २३ अर्ब ९० करोड रुपियाँ सरकारको आम्दानीका रूपमा देखिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।