झापा / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ को चुनावी माहोल निकै रोचक बनेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको हो ।

अहिले उक्त क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनबाट नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा, एमालेबाट भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेद्वार बनेकी थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका डा. शर्मा र वाम गठबन्धनबाट एमालेका ढकालबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला एक हजार नौ सय सात मतान्तरले डा. शर्मालाई पराजित गदै ढकालले विजयी भएका थिए । ढकालले ४२ हजार चार सय १३ मत ल्याउँदा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए । 

गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यस पटक कसले जित्छ भनेर अनुमान लगाउन सकिने अवस्था छैन । नायिका थापाको उम्मेदवारीले यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेलाई बलियो सङ्गठनको भरोसा छ भने शर्मा गठबन्धनको भर परेका छन् ।

नायिका थापा मोरङ –३ मा मतदाताले आफूलाई साथ दिने बताउँछिन् । जनताको सेवा गर्ने भावनाले नै चलचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उनी बताउँछिन् । 

मुख्य प्रतिस्पर्धा ढकाल, शर्मा र थापाबीच हुने देखिन्छ । कांग्रेसबाट जयराज संयोक बागी उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नं ३ मा सङ्घीय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा छन् । उन्नाइस स्वतन्त्र उम्मेदवार छन् ।

अब संसद् भवन सम्मको पुग्छ भनेर बुझ्नका लागि हामीले मंसिर ४ गते सम्म पर्खनै पर्ने हुन्छ ।