एजेन्सी  / नेपाल र बङ्गलादेशले सन २०२७ मा हुने यू-१९ महिला टि-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू- १९ महिला टि-२० विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू- १९ महिला विश्वकप नेपाल र बङ्गलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ । 

२०२५ को यू- १९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त आयोजना हुनेछ । त्यस्तै २०२४ को आईसीसी यू- १९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू- १९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ । नेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।