काठमाडौं / नेपाली लोकरक ब्याण्ड नेपथ्यको  ‘भट्भटे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बेग्लै स्वाद र संवादमा नयाँ गीत ल्याएको हो । तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरूमाझ एघारौं एल्बमको कोसेलीको रुपमा यो गीत ल्याएको हो । छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको ब्याण्डले तिहारअघि सार्वजनिक गीत ‘नैनताल’ यो एल्बमको अन्तिम गीत बताएको थियो । एघारौं एल्बमको पहिलो गीत ‘भटभटे’ गीत ६ बर्ष अगाडि नै रेकर्ड भएको हो ।

गीतले राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सही दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो औंल्याएको छ । यो सृजना मार्फत गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङले बताए । ‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दै आएको हुँ,’ अमृतले भने ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु ।’ मोटरसाइकल हाँक्दाको उन्मुक्तता गीतमा प्रतिविम्वित हुनपुगेको उनको धारणा रहेको छ । सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदीक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ । गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ ।

OM Sai Pathibhara Hospital

गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरूको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लस्कर पनि उपस्थित हुन्छ । कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ । यो लस्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ । गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ । सात मिनेट १५ सेकेन्ड लामो यस म्युजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । म्युजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।