काठमाडौं / त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन् ।शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो ।  मंसिर ३ गते शनिबार परेको छ भने ४ गते निर्वाचनकै दिन हो ।

त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्र समेत राखिएको हुँदा बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको हो ।