• अनिता  बिष्ट

बिर्तामोड /  झापाको क्षेत्र नम्बर –२ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक छ । उक्त क्षेत्रमा केही समयअघि सम्म एउटै पार्टीमा सहयात्री रहेका एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरे र एमालेकै पूर्व नेता हरि राना अहिले एक अर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  

झापा –२ मा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा भएपनि मनोनयन दर्ताका अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका राना र घिमिरे अहिले मुख्य प्रतिस्पर्धी बनेका छन् । 

OM Sai Pathibhara Hospital

एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका रानाले गत असोज २३ गते बिहान पार्टी परित्याग गरेको घोषणा गर्दै माओवादीको चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएर घिमिरेलाई चुनौती दिएका छन् ।  

रानालाई गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ भने एमालेका उम्मेदवार घिमिरेलाई राप्रपा र जसपाको समर्थन छ । दुबै नेता ४० वर्षदेखि एमालेको राजनीतिमा थिए । 

पृष्ठभूमि फरक भएपनि एउटै पार्टीबाट राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा झापा –२ का मतदाताहरु भने अलमलमा परेका छन् । यही क्षेत्रमा पर्ने अर्जुनधाराका मतदाता राजन अधिकारीले दुबै नेताका आ–आफ्नै विशेषता भएकाले अलमलमा परेको बताउँछन् । 

लामो समय एमालेमा राजनीति गरेरका राना २०७४ सालको स्थानीय निर्वाचनमा अर्जुनधारा नगरपालिकाको मेयरमा निर्वाचीत भएका थिए ।  अर्जुनधाराको प्रमुख हुँदानै रानाले धेरैको मन जित्न सफल भएका छन् । उनी एमालेको क्षेत्र नम्बर २ को ‘खम्बा’ मानिन्थे । तर, आसन्न निर्वाचनमा पार्टीबाट प्रतिनिधिसभा सदस्यको टिकट नपाउने अवस्था भएपछि रानाले एमाले परित्याग गरी माओवादी रोजेका हुन् । 

घिमिरेका लागि भने संसदीय चुनाव पहिलो हो । एमालेमा लामो राजनीति गरे पनि घिमिरे पहिलो पटक सांसदका लागि मैदान उत्रेका हुन् । घिमिरे पाका राजनीतिज्ञ भएकाले अन्तरपार्टी कलह मिलाउन उनको भूमिका खोजिने गरेको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले जितेकी थिइन् । खरेलले ४५ हजार आठ सय १७ मत ल्याउँदा कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त ल्याएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त वडा गत मतपरिणाम हेर्दा पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोडको १ देखि ९ नम्बरसम्मका वडा र कन्काई नगरपालिकाको ७ र ८ नम्बर गरी जम्मा २५ वटा वडा रहेको छ । 

स्थानीय निर्वाचनमा यस क्षेत्रमा एमालेले अर्जुनधारा र बिर्तामोडको मेयर–उपमेयरसहित १६ वटा वडा जितेको थियाे भने वडाध्यक्षका उम्मेदवारले भने ३६ हजार एक सय ५८ ल्याएका थिए । यहाँ राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर २ मा पनि एमालेले राप्रपासँग तालमेल गरेको छ  । त्यस्तै यस क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार सात सय ८३ मत पाएका थिए ।