ताप्लेजुङ  / ताप्लेजुङमा प्रहरीले करिब दुई किलोग्राम अर्थात् १६३ तोला सुनको गरगहना फेला परेको छ। 

तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो।

OM Sai Pathibhara Hospital

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार फुङ्लिङ नगरपालिका –४ स्थित छुट्टाछुट्टै दुई स्थानबाट लुकाइराखेको अवस्थामा सुनका गहना फेला पारिएको हो। 

बजार नजिकै जङ्गलमा बट्टा र बोरामा पोको बनाएर लुकाइराखेको अवस्थामा शुक्रबार बिहान ११७ तोला र दिउँसो ४६ तोला सुनको गहना फेला पारेको प्रवक्ता राईले जानकारी दिए। 

शुक्रबार फेला परेको समेत आईएमईबाट लुटिएको कुल ३०६ तोला सुनको गरगहना प्रहरीले फेला पारेको छ। यसअघि आईएमई लुटपाटमा संलग्नहरू पक्राउ गर्दा उनीहरूको साथबाट प्रहरीले १४३ तोला सुनको गहना बरामद गरेको थियो। त्यस्तै छ लाख १३ हजार ३४० रुपियाँ नगदसमेत बरामद भएको थियो। 

आईएमई अर्थात् कञ्चन मनि ट्रान्सफरका सञ्चालक अमरकुमार श्रेष्ठको जाहेरीअनुसार अब ४२ तोला मात्र सुनको गरगहना फेला पर्न बाँकी देखिन्छ। श्रेष्ठले ३४८ तोला सुनको गरगहना र ११ लाख ६३ हजार २५० रुपियाँ नगद लुटिएको भनी प्रहरीमा दिएको जाहेरीमा उल्लेख गर्नुभएको छ। यता हाल फेला पर्न नसेको सुनको गरगहना तथा नगदबारे सूक्ष्म अनुसन्धान र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सदरमुकाम फुङ्लिङको मुख्य बजार वीरेन्द्र चोकमा रहेको आईएमईमा गत असोज १७ गते दशैँको अष्टमीको दिन बिहानको समय करिब ९ः३० बजेतिर लुटपाट गरिएको थियो। प्रहरीका अनुसार जाकट (बन्दक) राखेको सुनको गहना उकास्ने बहानामा आईएमईमा कार्यरत एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर चार जनाको समूहले योजनाबद्ध लुटपाट मच्चाएका थिए। दशैँको बिदा भइसकेको समयमा बजार र मानिसको चहलपहल शून्य भएको मौकी छोपी आईएमई लुटपाट गर्ने समूहका चारै जनालाई प्रहरीले पक्राउ गरेको छ। 

लुटपाटमा संलग्न रहेको आरोपमा फुङ्लिङ नगरपालिका –२ का २९ वर्षीय राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका –१ का २६ वर्षीय चुनबहादुर सुनार र अर्जुनधारा नगरपालिका –१० का मणिराज पर्तेल तथा हाल पाँचथर फिदिम नगरपालिका –१ बस्दै आएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –५, लिम्बुदिनका २७ वर्षीय गजेन्द्र लिम्बू पक्राउ परेका छन्। 

लुटपाट भएकै दिन राजायन्द्र पक्राउ परेका थिए भने अन्य पनि एकसाता नबित्दै पक्राउ परेका थिए। पक्राउ परेकामाथि अनुसन्धानको क्रम चलिरहेको प्रहरीले जनाएको छ।