झापा / २८ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर प्लम्बरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा रहेका छन् । 

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका -१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।  उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानी वापत उनीहरूले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।