बिर्तामोड  / भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ भने पेट्रोलको भाउ सामान्य बढेको छ । 

OM Sai Pathibhara Hospital

भारतबाट पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ, डिजेल १५.६० रुपैयाँ र हवाई इन्धन १०.२५ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । योसँगै निगमलाई डिजेलमा ६.३४ रुपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । 

त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमको भनाइ छ । समग्रमा आगामी १५ दिनमा निगमलाई ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।