झापा / चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । 

OM Sai Pathibhara Hospital

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ थियो ।

विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा निर्यात करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

आयात र निर्यात दुवै घट्दा व्यापार घाटा भने सामान्य घटेको विभागको तथ्यांमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९ दशमलव ४५ प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ भएको छ । 

यसै अवधिमा नेपालले भारतबाट एक खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने १९ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । दोस्रो स्थानमा रहेको चीनबाट ३७ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गर्दा १२ करोड ३९ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।

त्यसपछि इन्डोनेसियाबाट आठ अर्ब ८२ करोड रुपैयाँको आयात भएको छ भने दुई करोड १४ लाख रुपैयाँ मात्र त्यहाँ निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट तीन अर्ब ९० करोड रुपैयाँको वस्तु आयात गरेको नेपालले तीन अर्ब ६१ करोडको वस्तु निर्यात गरेको छ ।