झापा / चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा नेपाल विद्युत प्रधिकरणले इन्डियन एक्सचेन्ज मार्केटमा बिजुली बेचेर  दुई अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको छ । 

 भदौमा मात्र प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भारत निर्यात गरी उक्त रकम आम्दानी गरेको हो । 

OM Sai Pathibhara Hospital

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्यागृहकाे ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो ।त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । 

भारतसँगको विद्युत व्यापार भारुमा हुने भएकोले चार महिनाको अवधिमा विद्युत बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

त्यस्तै प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२.७ मेगावाट विद्युत आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।