बिर्तामाेड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा अर्जुनधाराका ६ वटा विद्यालय छनोट भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अर्जुनधाराका ६ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

OM Sai Pathibhara Hospital

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको वडा नम्बर १ को सिंहदेवी मा. वि., वडा नम्बर ४ को भिमले आधारभुत विद्यालय र अर्जुनधारा मा. वि, वडा नम्बर ५ को आधारभुत विद्यालय कञ्चनबारी, वडा नम्बर ६ को लक्ष्मी मा. वि र वडा नम्बर ९ को कालिस्थान मा. वि छनोट भएका छन् । 

भिमले आ. वि. र कालिस्थान मा.वि लाई दुई कोठे भवन, लक्ष्मी मा. वि. र अर्जुनधारा मा. विलाई चार कोठे भवन, सिंहदेवी मा. वि. र आधारभुत विद्यालय कञ्चनबारीलाई आइसीटी कार्यक्रम परेको छ । 

२ कोठे भवनका लागि २५ लाख, ४ कोठेका लागि ५० लाख र आइसीटी कार्यक्रमका लागि ६ लाख ५० हजार अनुदान दिइने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । 

त्यस्तै मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४/४ विद्यालय छनोट भएका छन् भने गौरादह, बाह्रदशी र भद्रपुरका ५/५ वटा, कमलका ७, दमकका  १० र गौरीगञ्ज गाउँपालिकाको ३ वटा विद्यालय छनोट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याब स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । 

प्रस्ताव पेश गरेका विद्यालय मध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु आर्थिक वर्षका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।