बिर्तामोड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाका ४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  बुद्धशान्तिका ४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत  बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर -४ मा रहेको गणेश मा बि  , वडा नम्बर -७ मा रहेको राष्ट्रिय विजय मा बि , वडा नम्बर -५ मा रहेको गडीगाउँ मा बि , र वडा नम्बर -२ मा रहेको सरस्वती आधारभुत विद्यालय छनोट भएका छन् । 

गणेश मा बि लाई ४ कोठे भवनका लागि ५० लाख , राष्ट्रिय विजय मा बि लाई ४ कोठे भवनका लागि ५० लाख , गडीगाउँ मा बि लाई आइसिटी कार्यक्रम र सरस्वती आधारभुत विद्यालयलाई २ कोठे भवनका लागि २५ लाख बजेट बिनियोजन भएको छ । त्यस्तै मेचीनगर, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४ / ४ वटा विद्यालय छनोट भएका छन् भने गौरादह, बाह्रदशी र भद्रपुरका ५ र ५ वटा, कमलका ७, दमकका १०  गौरीगञ्जका ३ र अर्जुनधाराका ६ वटा विद्यालय छनोट भएका छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापना लगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु आर्थिक वर्षका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।