झापा / नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ ‘नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णय गरेको छु । यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । खुसी, माया, दुःख र पीडा विनाको यस यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम जय नेपाल ।’’

OM Sai Pathibhara Hospital

उनी कतार फुटबल संघको सहयोगमा नेपालको प्रशिक्षक बनेका थिए । अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालमा टिम छाडेको घोषणा गर्ने गरेका थिए । पछिल्लो समय आफ्नै देश कुवेतमा बस्दै आएका अलमुताइरीको राजीनामाको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै जानकारी दिएको छैन ।

एन्फाले अलमुताइरीलाई सन् २०२४ सम्म नेपाली फुटबल टोलीको प्रशिक्षकमा अनुबन्ध गरेको थियो । तर पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अलमुताइरी एन्फाको नयाँ नेतृत्वसँग रुस्ट थिए । सोही कारण अहिलेको एन्फाले प्रदीप हुमागाईंलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेर राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ ।