काठमाडौं /  पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितहरूको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार १ हजार ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३७ जना र २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४७३ जना कोरोनाका सक्रिय संक्रमित विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको कुल संख्या ९ लाख ८३ हजार ९४९ पुगेका छन् ।