काठमाडौँ /  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगको विषयमा आयोजना गर्न लागेको पत्रकार सम्मेलन रद्द गरेर आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले प्राविधिक कारण देखाउँदै आजको पत्रकार सम्मेलन रद्द गरेर सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।

OM Sai Pathibhara Hospital

क्यानले टी २० को विषयमा बाफलस्थित होटल हायत प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। सन्दीपमाथि आरोप लागेको विषयमा क्यानले अहिलेसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। 

क्यानको बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । बलात्कार आरोप लागेकाले सम्भवतः क्यान बैठकले बुधबार उनलाई तत्काल निलम्बनमा राख्ने निर्णय गर्ने जनाइएको छ ।

सन्दीप विरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्। ५ भदौमा सन्दीपले गौशालस्थित एक होटलमा लगेर ती युवतीलाई बलात्कार गरेको आरोप उजुरीमा छ ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्म रुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। उनी आबद्ध जमैकाले भोलि सेन्ट लुसियासँग खेल्दैछ। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ भने सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।