झापा  / पाइपलाइनमार्फत भारतबाट डिजेल मात्र आयात गर्दै आएको नेपाल आयल निगमले अब पेट्रोल पनि आयत गर्ने भएको छ । 

निगमले पाइपलाइनबाटै पेट्रोल आयात गर्न बाराको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो ।

OM Sai Pathibhara Hospital

हाल निगमले भारतको बिहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । अब निर्माण हुने पेट्रोल भण्डारण गृह मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन् । 

जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दशैँपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिए ।

नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ । 

पेट्रोल सङ्कलन गर्ने दुई वटा भण्डारण ट्याङ्की निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रुपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको भनाइ छ । 

करिब तीन अर्ब २६ करोड रुपैयाँको लागतमा निर्माण हुने दुई वटा पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ ।

हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ । तर पेट्रोल भने भारतबाट ट्याङ्करमार्फत आयात भइरहेको छ ।