काठमाडौँ  / राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । 

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।

OM Sai Pathibhara Hospital

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवद्र्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । 

एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताए । 

उनले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गरे ।

आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताए ।

नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको आयोजनाले जनाएको छ । 

यसअघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ ।