काठमाडौं  / पाकिस्तान महिला फुटबल टिम साफ च्याम्पियनसिप खेल्नका लागि सोमबार बिहान नेपाल आइपुगेको छ । 

फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी टोलीले अन्तिम समयमा साफ महिला च्याम्पियनसिप खेल्ने निर्णय गरेको थियो । पाकिस्तानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य मनिष जोशी, सरिला श्रेष्ठलगायत पदाधिकारीले स्वागत गरेका थिए ।
महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ । समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो खेल भारतविरुद्ध खेल्ने तालिका छ । तथापि, फिफाको प्रतिबन्धका कारण भारतीय महिला टोलीको सहभागिता अन्योलमा परेको थियो । 
फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । यो समूहमा पाकिस्तानसँगै भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा भुटान र श्रीलंका छन् ।