झापा / स्वर्गीय पूर्व राजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

२९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका श्रीमान् शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालले बिहीबार मुद्दा दायर गरेको हो।

OM Sai Pathibhara Hospital

धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास गरेर भ्रष्टाचार गरको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । 

सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा ल्याएर २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ भ्रष्टाचार गरको बताउँदै सो बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

दरबार हत्याकाण्ड हुँदा महेन्द्रका ज्वाइँ कुमारको भने मृत्यु भइसकेको थियो। उनीसहित जनकपुर गुठीका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुना प्रसाल पंजियार, मालपोत कार्यालय धनुषाकै तत्कालीन खरिदार जगदेव कामती, दिवश विक्रम शाह, विभा कुमारी यादव, राज किशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितु कुमारी झाविरुद्ध मुद्दा दायर गरिएको छ। 

त्यसैगरी शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकली देवी यादव, नवीन कुमार झा, मीना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।

उनीहरु मिलेर गैरकानुनी रुपमा व्यक्ति विशेषका नाममा सरकारी जग्गा दर्ता गराएको दाबी गरिएको छ। कार्यालय प्रमुख बस्ताकोटीले तत्कालीन श्री ५ को सरकारको नाममा रहेका जग्गाहरु भिड्दै नभिड्ने गुठी लगत कायम गरी कुमार खड्गविक्रम शाहको नाममा दर्ता कायम गराइएको पाइएको छ। बस्ताकोटीले शाहको नाममा प्रमाण पुर्जा बनाइदिन भन्दै मालपोत कार्यालय धनुषालाई पत्राचारसमेत गरेको पाइएको छ।

बस्ताकोटीको सिफारिस अनुसार मालपोत कार्यालयका तत्कालीन प्रमुख पंजियारले सरकारको नाममा रहेको उक्त जग्गा कुमार खड्गविक्रम शाहको नाममा दर्ता कायम गराएको अख्तियारको दाबी छ।

सरकारको नामा रहेको धनुषाको साविक बिडारी–५ स्थित कित्ता नम्बर १३२, १३४, १३५ र कित्ता नम्बर ६ को जम्मा ८ बिगाहा १० कट्ठा १२ धुर सरकारी जग्गा आफ्नो नाममा ल्याउन कुमार खड्गविक्रम शाहले गुठीदेखि मालपोतका कर्मचारीलाईसमेत प्रभावमा पारेका थिए।

कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारेर शाहले श्री ५ को सरकारको नाममा रहेको ८ बिगाहा १० कट्ठा १२ धुर जग्गा आफ्नो नाममा दर्ता गराएका थिए। उक्त जग्गा जफत गरी नेपाल सरकारको नाममा ल्याउनसमेत मागदाबी गरिएको छ।