सुर्खेत / सल्यानको बनगाडकुपिण्डे नगरपालिकाको एकै विद्यालयका १०० भन्दा धेरै विद्यार्थी बिरामी परेका छन्।
वडा नम्बर १२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई केही दिनदेखि रुघाखोकीको समस्या देखिएको हो।

विद्यार्थी बिरामी परेपछि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलसहितको स्वास्थ्यकर्मीको टोली बुधबार विद्यालयमा पुगेर विद्यार्थीहरूको कोरोना परीक्षण गरेको छ ।
पोख्रेलका अनुसार विद्यार्थीलाई ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, नाकबाट पानी बग्ने समस्या देखिएको छ।
स्वास्थ्यकर्मीको टोलीले आजै ७० जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको संयोजक पोख्रेलले बताए।
‘विद्यार्थीलाई ज्वरो आएको खबर वडाअध्यक्षले जानकारी दिएपछि हामी यहाँ आएका हौं, ७० जनाको परीक्षण भइसक्यो,’ उनले भने, ‘अहिलेसम्म १२ जनालाई कोरोना संक्रमण देखिएको छ, आजै सबै विद्यार्थीको एन्टीजेन गरेर फर्किन्छौं।’
उक्त विद्यालयमा कार्यरत शिक्षकमा यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि अरू विद्यार्थीमा पनि ज्वरो तथा रुघाखोकी देखिएको पोख्रेलले बताए।