तनहुँ / बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्धको मुद्दामा पेसी तोकिएको छ । 

शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा आज ८ गते र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको हो ।

OM Sai Pathibhara Hospital

शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व (नवलपुर)मा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन्। 

बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नवलपुरमा घटना विवरणका मानिसहरूसँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता वाग्लेले बताए । 

जाहेरीवाला, साक्षीहरू, पीडित भनिएको लगायत घटना विवरणसँग सम्बन्धित मानिसहरूसँग बुझ्ने काम हुने उनले जानकारी दिए ।

तनहुँ अदालतमा भने यी सबै काम पूरा भइसकेको वरिष्ठ अधिवक्ता वाग्लेले बताए । तनहुँ अदालतले अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताए । 

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए । 

शाहविरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा गएका थिए । 

शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ । 

पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने भदौ १५ गते फैसला आउन सक्ने बताइएको छ ।