काठमाडौँ / रासायनिक मल बिक्री वितरणलाई छिटो, छरितो र पारदर्शी बनाउन ‘ई–बिडिङ’ प्रणाली लागू गरिएको छ । 

देशभरका मल बिक्री वितरण गर्ने डिपोहरुले आफू खुशी मल बिक्री गरेको, आफू नजिकका व्यक्तिहरूलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्न थालेपछि कृषि सामग्री कम्पनीले यस्तो व्यवस्था गरेको हो ।

OM Sai Pathibhara Hospital

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको छ । 

यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा चुहावट पनि रोकिने कार्कीले बताए । 

कार्कीका अनुसार कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोमा लागू गरिएको छ । 

कम्पनीबाट कुन सहकारीले कति मल लगे, कुन स्थानीय तह वा पालिकामा कति मल गयो, कहाँ कति बाँकी छ लगायतका विवरण जहाँबाट पनि एकसाथ हेर्न सकिने गरी यो प्रणाली निर्माण गरिएको कार्कीले जानकारी दिएका छन् ।

हरेक ठाउँको तथ्याङ्क सफ्टवेयर मार्फत अद्यावधिक गरिने बताउँदै उनले त्यसको नियन्त्रण तथा अनुगमन केन्द्रले गर्ने जनाए । जुन डिपो, जहाँबाट, जति मल बिक्री गरेको भए पनि प्रतिदिन उक्त प्रणाली मार्फत अपडेट गर्नुपर्ने बताइएको छ । गोरखापत्रको सहयोगमा