बिर्तामोड / गैरकानुनी ढंगले अनलाइन गेमिङमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दमक नगरपालिका –८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, कमल गाउँपालिका –२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनीहरूलाई गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार नेपालमा प्रतिबन्धित वान एक्स बेट एप्लिकेसनमा पैसाको हारजित हुनेगरी खेल खेल्ने र उक्त खेल खेलाउन अनाधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट सिम झिकेर सट्टाबाजीको लागि आवश्यक रकम पाउन इ–सेवा खाता खोली लाखौंको कारोबार गर्ने गरेको पाइएको छ ।

त्यस बाहेक कन्सल्टेन्सीमा आउने विध्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइईको प्राप्तांकसमेत परिवर्तन गर्ने गरिएको खुलेको उनले बताए ।

पक्राउ गर्नेमध्ये साह पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले वान एक्स एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने र त्यसका लागि अनधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेल सिम झिक्ने र सो सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम पाउन इ–सेवा खाता खोलेर लाखौंको कारोबार गर्ने गरेको खुलेको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी पाठकले जनाए ।