बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ७१२ कोरोना परीक्षण गर्दा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
दुई हजार २९० को पीसीआर परीक्षण गर्दा ४१९ र दुई हजार ४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५११ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७७५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये पाँच हजार ५६५ जना होम आइसोलेसनमा, २१० जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये ६३ जना आइसियू र आठजना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार ८०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८४ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।