काठमाडौँ / सरकारले मिटरब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । 

कार्यदलको सदस्य सचिवमा ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रधानमन्त्री  देउवाले आज बिहानमात्रै गृहमन्त्री  खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा उक्त कार्यदल गठन गरिएको हो ।