काठमाडौं / पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अङ्कित दरका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।
जसमध्ये दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरी बाँकी २२ लाख ९४ हजार छ सय ८२ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने जनाइएको छ ।
सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणाली तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन्।






































