बिर्तामोड / काठमाडौँ चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बराइलीसँगको इन्गेज्मेन्ट तोडेको बताएकी हुन्। 

उनले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए। 

OM Sai Pathibhara Hospital

‘केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो,’ उनले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।’

उनले सबै इन्गेज्मेन्ट बिहेमा परिणत हुनैपर्ने बाध्यकारी कुरा पनि नरहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेकी छन्। उनले यसबीचमा आफ्ना शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छन्।

यसअघि सञ्जीवसँग इन्गेज्मेन्ट गरेपछि खास गरी मेलिनाका आफन्त र किराती समुदायका कयौँ मानिस क्रुद्ध भएका थिए। यद्यपि केहीले भने उनको बचाउ गरेका थिए। 

मेलिना र सञ्जीवको इन्गेज्मेन्टलाई लिएर दलित समुदायले भने जातीय पर्खाल भत्काउन गरिएको साहसिक निर्णय भन्दै प्रशंसा गरेका थिए। 

सञ्जीव चर्चित एरेन्जर हुन्। उनले थुप्रै गीत लोकप्रिय गीत दिएका छन्। केही समय अगाडि लोकप्रिय बनेको ‘फुल बुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत थियो। उनी चर्चित गितारिस्ट पनि हुन्।