काठमाडौं / नेपालको चर्चित गायन रियालिटी शो भ्वाइस अफ नेपालको कोचबाट दीप श्रेष्ठ र तृष्णा गुरुङ बाहिरिएका छन् । यो सँगै राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा भित्रिएका हुन् । बिहीबार भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेको बताएका छन् । उनले भनेका छन्, यसपटक अडिसनमा सहभागी प्रतिभाहरूको क्षमता देखेर हामी निकै उत्साहित भएका छौँ । यो सिजन अघिल्ला वर्षहरूमा भन्दा उत्कृष्ट हुनेमा विश्वस्त छौँ ।

OM Sai Pathibhara Hospital

डिजिटल अडिसनमा सहभागी ४१ हजार प्रतिस्पर्धीबाट १ सय २० प्रतिस्पर्धी ब्लाइन्ड अडिसनका लागि छनोट भइसकेका छन् । एक महिनाभित्रै नयाँ सिजनको प्रसारण थाल्ने आयोजकले बताएको छ । नयाँ सिजनमा टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर जोडिएको छ । भ्वाइस अफ नेपालको पहिलो, दोस्रो र तेस्रो सिजनमा क्रमशः सिडि विजय अधिकारी, राम लिम्बू र किरण गजमेर विजेता बनेका थिए ।