झापा / मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । 

बुधबार दिउँसो १ः१० मा मुम्बई उड्न तयार रहेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट पक्राउ परेका सन्तोष लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी सङ्घमा समेत आबद्ध रहेको पाइएको छ । 

OM Sai Pathibhara Hospital

उनीसँगै मीना लामिछानेलाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ । 

कैलाली जिल्ला प्रहरी कार्यालयले, प्रहरी प्रधान कार्यालयलाई नेपाल एयरलाइन्सको मुम्बई उड्न तयार रहेको उक्त जहाजमा आतङ्कवादी रहेको सूचना पठाएपछि उडान स्थगित गरेर प्रहरीले चेकजाँच गरेको थियो ।

कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

अहिले सुनचाँदी व्यवसायीहरूको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।