बिर्तामोड / कोरोना भाइरस सङ्क्रमणका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दुई जना थपिएसँगै एक सातामै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
साउन लागेयता मात्र १४ जनाको ज्यान गएको छ । विज्ञहरूले आगामी केही साता संक्रमण र मृत्यु संख्या बढ्ने बताएका छन् । ज्यान गुमाएका १४ मध्ये १२ जना खोप नलगाएका हुन् ।
खोप लगाएका दुई जनामध्ये १ जनाले एक मात्रा लिएका र मधुमेह तथा उच्च रक्तचापले ग्रस्त थिए भने अर्का ७५ वर्षीय पुरुषले पूर्ण मात्रा खोप लगाए पनि क्यान्सर, दम, उच्च रक्तचापलगायत स्वास्थ्य समस्यामा थिए । ‘पछिल्लो समय खोप नलगाएकाहरूलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था देखिएको छ ।
खोप नलगाएकाहरूले खोप लगाएर शरीरमा रोग प्रतिरोधक क्षमता उत्पन्न नभएसम्म अर्थात् सामान्यतया कम्तीमा दुई सातासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् ।






































