बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । सी वा सो भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो। कोभिड सङ्क्रमणका कारण अघिल्ला दुई वर्ष विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनका आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो।
यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए। यस वर्ष करिब ४ लाख ९६ हजार परीक्षामा सहभागी मध्ये १०३ जनाको परीक्षा रद्द भएको थियो।