झापा  / अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङबीचको कुटपिट प्रकरण अदालतसम्म पुगेको छ ।

तामाङले बुधबार मिरुना र फिल्म प्राविधिक पृथ्वी सिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा मिरुनाले आफूमाथि तामाङले दुर्व्यवहार गरेको भन्दै तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेकी थिइन् । सो घटनापछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएपछि प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनीत ‘कबड्डी ४’ को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि केएल टावरमा अवस्थित हलको शो रद्द भएको थियो ।

सोझो भिक्षुलाई मिरुनाले फसाएको भन्दै प्रर्दशनकारीले चर्को विरोध गरेपछि दुई दिन पछि उनलाई रिहा गरिएको थियो । रिहा पछि तामाङ र मगरबीच मिलापत्र समेत भएको थियो ।

दुवै पक्षले साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रको कागजसमेत सार्वजनिक गरेका थिए । मिलापत्रको कागजमा तामाङले माफी मागेको उल्लेख थियो ।

यता अभिनेत्री मगरले पनि कुनै जाति, धर्म, सम्प्रदाय प्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको बताउँदै उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना समेत गरेकी थिइन् ।