इलाम /  इलामका विद्यालयहरू धमाधम बन्द गरिएका छन् । रुघा खोकीसहित ज्वरोका बिरामी बढ्न थालेपछि निजी विद्यालयहरूले धमाधम पठनपाठन बन्द गरेका हुन् । 

केही समयअघि इलाम नगरपालिकाभित्रका सबै निजी विद्यालय बन्द गरिएको थियो भने पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । 

OM Sai Pathibhara Hospital

विद्यालयहरू एक साताका लागि बन्द गरिएको बताइएको छ । गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । 

इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे लगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्ने लगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहने लगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

अस्पतालमा शय्या नहुँदा बिरामीलाई भुइँमा राखेर समेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । 

पानी उमालेर मात्र खाने, चिसोबाट जोगिन समेत स्वास्थ्यकर्मीको सल्लाह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।