काठमाडौँ / तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको  संसदीय छानबिन समितिले सिंहदरबारकाे दक्षिण र पूर्वी प्रवेशद्वारको सिसिटीभी फुटेज मगाएको छ। 

अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि आइतबार बसेको समिति बैठकले  सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसद्ले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक र कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवालीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

छानबिन गर्न संसदीय समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा समेत दिएका छन् । उनले पदबाट राजीनामा दिएपनि बजेट निर्माण गर्दा मन्त्रालय भित्र अनधिकृत व्यक्ति प्रवेश नगरेको बताउँदै आएका छन् ।