ताप्लेजुङ / ताप्लेजुङबाट गत आर्थिक वर्षमा साढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै आर्थिक वर्ष २०७८/७९ मा कुल ७२ करोड ६१ लाख ७२ हजार १६५ रुपियाँ रकम फ्रिज भएको जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

कोष नियन्त्रक मदनकुमार पौडेलले पुँजीगत तर्फ ५९ करोड २६ लाख १६ हजार ५०४ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको बताए । 

यस्तै चालूतर्फ १३ करोड ३५ लाख ५५ हजार ६६१ रुपियाँ रकम खर्च हुन नसकेको अर्थात फ्रिज भएको कोष नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०७८/७९ मा चार अर्ब ८१ करोड ८८ लाख ५६ हजार ४० रुपियाँ चालूअन्तर्गतको बजेट रहेको थियो । उक्त बजेटमध्ये चार अर्ब ६८ करोड ५३ लाख ३७९ रुपियाँ खर्च भएको छ । 

यस्तै पुँजीगत तर्फ प्रदेशबाट १९ करोड तीन लाख २३ हजार र सङ्घबाट एक अर्ब पाँच करोड ८८ लाख २२ हजार ५०० रुपियाँ गरी कुल एक अर्ब २४ करोड ९१ लाख ४५ हजार ५०० रुपियाँ बिनियोजन भएको थियो । उक्त प्रदेश र सङ्घ दुवैतर्फको बजेटमध्ये ६५ करोड ६५ लाख २८ हजार ९९६ रुपियाँ मात्र खर्च भएको कोलेनिकाले जनाएको छ ।