बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै १४ जना पदाधिकारी र कर्मचारीलाई १३ लाख रुपैयाँ बराबरको स्मार्ट फोन खरिद गरेको पाइएको छ । 

गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा १३ लाख ९ हजार रुपैयाँ बराबरको स्मार्ट फोन किनेर पदाधिकारी र कर्मचारीलाई बाँडेको महालेखापरीक्षकको लेखा प्रतिवेदनले देखाएको छ । 

OM Sai Pathibhara Hospital

गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको उक्त स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ।

गाउँपालिकाको आयलाई प्रभावित पार्नेगरि खरिद गरिएको उक्त मोबाइल फोन बापतको रकम सम्बन्धित पदाधिकारी र कर्मचारीबाट असुल गर्न महालेखापरीक्षकको कार्यालयले पालिकालाई निर्देशन दिएको छ ।

महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ। ऐनमै नभएको सुविधाबापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ। 

२०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए।