झापा / बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहको बेला सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा अनुदान दिएसँगै सिमेन्ट पछि नेपालबाट पहिलो पटक फलामे रड पनि भारतमा निर्यात भएको छ । 

रूपन्देहीको रोहिणी गाउँपालिका –३ सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधबारदेखि भारतमा स्टिल्स निर्यात गरेको हो ।

OM Sai Pathibhara Hospital

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो ।

उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक बेलहिया नाका हुँदै पहिलो चरणमा आज करिब ३५ टन टिएमटी छड पठाएको छ। 
केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानी रहेको यो उद्योगले टीएमटी फलामे छड उत्पादन गर्दै आएको छ। प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ।

सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ ।
तानसेनसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । उक्त उद्योगहरूले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पर्खाईमा रहेको जनाएका छन् ।

यसरी नेपालमा उत्पादित बस्तुहरू नेपाल बाहिर निर्यात हुँदा यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।