हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका –४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।

OM Sai Pathibhara Hospital

बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ । हेटौँडा क्याम्पसमा सहायक क्याम्पस प्रमुख देवीराम लामाका अनुसार अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने समेत सहमति भएको छ । 

मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए ।विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए ।

 ‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको उनीहरूको आरोप छ ।