बिर्तामोड / स्वास्थ्य बिमामार्फत विरामको उपचार गरेबापत सरकारले अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम महिनौँसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरूले सोमबारबाट स्वास्थ्य बिमा बापतको उपचार सेवा बन्द गर्ने भएका छन् ।
तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै सूचना जारी गरेका छन् । आइतबार राती १२ बजेबाट बिमा मार्फतका उपचार सेवा बन्द गरिने अस्पतालहरूले जनाएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन ।
‘सरकारले करोडौं रकम महिनौँसम्म भुक्तानी नदिदा अस्पतालहरू धराशायी बन्दै गएका छन्, कर्मचारीहरूलाई समयमै तलब खुवाउँन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बीमा बापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’
नोबेलले स्वास्थ्य बीमा बोर्डको विराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा क्लेम बापतको भुक्तानी नभएसम्म र सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बीमा कार्यक्रम प्रदान गर्ने निश्चित नगरेसम्म स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा स्थगन गरिएको छ ।’
सर्वसाधारण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरूले भटाभट स्वास्थ्य विमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्य बीमाले सर्वसाधारण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो, तर सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरूले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा.कार्की भन्छन्, ‘सरकारले विमाको भुक्तानी नदिदा कर्मचारीहरूलाई तलब खुवाउँन सकिएको छैन, कर्मचारीहरुले जागिर छोड्न थालिसके, हामीले बाध्य भएर बीमा उपचार रोक्नु परेको छ ।’
यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य बिमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं विरामीले स्वास्थ्य बिमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब, यो सेवा प्रभावित बन्ने भएको हो । स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने सूचारु हुने अस्पतालहरूले जनाएका छन् ।
सरकारले प्रति परिवार बार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई बार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । यसबाट सर्वसाधरणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका छन् । स्वास्थ्य बिमा बापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवा प्रभावित बन्दै गएको हो ।