काठमाडौँ / दक्षिण एसियाली मुलुक श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक सङ्कटमा फसेको छ ।

समस्या यति जटिल छ कि आर्थिक सङ्कटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धन जस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलङ्काका राष्ट्रपति देश छोडेर भागेका छन् ।

OM Sai Pathibhara Hospital

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। आक्रोशित प्रदर्शनकारीले सरकारी निवासमा नै कब्जा गरेपछि राष्ट्रपति फरार हुन बाध्य भएका हुन्। 

उनी अहिले मालदिभ्स हुँदै सिङ्गापुरमा निर्वासनमा पुगिसकेका छन्। यी सबका बीच जनता सडकमा उत्रिएका छन् । उनीहरुले दिनहुँजसो प्रर्दशन गर्दै आइरहेका छन् ।

वैदेशिक मुद्रा नभएपछि श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरेको थियो । यसरी टाट पल्टिने श्रीलंका पहिलो मुलुक भने होइन र अन्तिम पनि होइन । 

यसअघि १९९८ मा रुस, अर्जेन्टिना २००० देखि २०२० सम्मको अवधिमा दुई पटक टाट पल्टिएको छ । यस्तै २००१ मा इक्वेडर, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २०१२ मा ग्रिस टाट पल्टिएका थिए।

अहिले विश्वव्यापी आर्थिक संकट देखिएको छ । खासगरी सन् २०२० यता कोरोना भाइरसको महामारीबाट उत्पन्न लकडाउनले निम्त्याएको आपूर्ति श्रृङ्खलाको गडबडीले उसैपनि संकटापन्न रहेको विश्व अर्थतन्त्र फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि संकटको झनै निकट पुगेको हो।

जुन देश वैदेशिक ऋण तिर्न असक्षम हुन्छन् । ती देश आफूलाई टाट पल्टिएको घोषणा गर्छन्। श्रीलंका पछि विभिन्न १२ देश यो सङ्कटको नजिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले एक रिपोर्ट प्रकाशित गरेको छ ।

रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले आर्थिक संकटसँग जुधिरहेका छन्।