काठमाडौं / हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरू भएको छ ।

गत वैशाख २३ गते एक आपसमा मर्जर सम्झौता गरेका कम्पनीले आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

एकीकृत कारोबार सुरु गरेको कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साविकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ । हिमालयन एभरेष्टको अध्यक्षको जिम्मेवारी हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बनेका छन् भने सञ्चालक समितिमा दुवै संस्थाबाट ३/३ जनाको प्रतिनिधित्व रहेको छ ।

नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनकै विजय बहादुर शाहलाई र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई दिइएको छ ।

मर्जरसँगै नयाँ कम्पनीको कुल शाखा संख्या ७५ पुगेको छ । दुई कम्पनी १००ः८० सेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मर्जरअघि हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ थियो ।

बीमा समितिले तोकेको न्यूनतम २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न अब २६ करोड रुपैयाँ नपुग हुन्छ । सो रकम कम्पनीले लाभांशबाट पुर्याउन सक्ने क्षमता राख्दछ ।

दुई कम्पनी बीच २०७९ वैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौता भएको थियो भने असार २ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।