झापा / जुम्लाको तिला गाउँपालिका- ८ जुम्लाकोट स्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थीले अनुशासन पालना नगरेको भन्दै सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको कपाल काटिदिएका छन् ।

कक्षा कोठामै विद्यार्थीहरूको कपाल काटिएको र अर्को दिन आउँदा सबै विद्यार्थीहरूले कपाल काटेर विद्यालयको पोशाकमा आउन निर्देशन गरिएको भन्दै कपाल काट्दै गरिएको भिडियो सामाजिक सञ्जालमा समेत पोष्ट गरिएको छ ।
अनुशासन पालन नगरेको नाममा शिक्षकले नै जबरजस्ती कक्षाकोठामै कठालो समातेर कपाल काट्दै गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी दुर्व्यवहार गरेको विद्यार्थीले गुनासो गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक रामभजन यादवले भने –‘लामो कपाल पालेर आएका विद्यार्थीलाई कपाल काटेर आउ भनेर हप्ता दिनदेखि सम्झाउँदै आएका थियौं । तर, २-४ जना विद्यार्थीले टेरेनन् । अनुशासनको पालन गरेनन् । अनुशासन पालन गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएका हौँ ।’घटनाका सम्बन्धमा विद्यार्थीले कुनै पनि निकायमा उजुरी दिएका छैनन् ।