मकवानपुर / मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाए पछि पाँच क्रसर उद्योगमा तालाबन्दी गरिएको हो ।
सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर –५ मा अवस्थित साइबाबा क्रसर उद्योग, आधुनिक, आमभञ्ज्याङ एग्रिगेर, वडा नम्बर –२ को नमूना बालुवा उद्योग र वडा नम्बर –६ को सामरी खोला बालुवा उद्योगमा तालाबन्दी गरिएको हो ।
साइबाबाले २८ लाख रुपैयाँ, आधुनिकले २३ लाख, आमभञ्ज्याङ एग्रिगेरले २८ लाख, नमूनाले ३० लाख र सामरी खोला बालुवा उद्योगले ४५ लाख रुपैयाँ राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका –६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईँले बताए ।






































