काठमाडौँ / एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । 

OM Sai Pathibhara Hospital

यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ । 

करकट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर पनि यस अवधिमा निकै बढेको छ । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा छ हजार १५६ वटा त्यस्ता निकायले स्थायी लेखा नम्बर लिएका छन् । 

२०७८ असार मसान्तसम्म करिब १० हजार त्यस्ता निकायले मात्र स्थायी लेखा नम्बर लिएका थिए । पछिल्लो एक वर्षसहित यसरी स्थायी लेखा नम्बर लिने करकट्टी गर्ने निकायको सङ्ख्या हालसम्म १६ हजार नाघेको छ । 

तीनै प्रकृतिका करदातासहित एक वर्षको अवधिमा करिब सात लाख नयाँ करदाता थपिएका हुन् । यससँगै हालसम्म स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४७ लाख ५९ हजार पुगेको छ । समीक्षा अवधिमा २७ हजार २७० करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । 

योसँगै नेपालमा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको सङ्ख्या करिब तीन लाख १८ हजार पुगेको छ । त्यस्तै एक वर्षमा १३ हजार ६७१ करदाता अन्तःशुल्कमा दर्ता भएका छन् । 

हालसम्म अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या एक लख १८ हजार पुगेको छ । सरकारले करको दरभन्दा पछिल्लो समय करको दायरा विस्तारमा जोड दिँदै आएको छ । हाल अनलाइनबाटै व्यक्तिगत र व्यावसायिक रूपमा स्थायी लेखा नम्बर प्राप्त गर्ने सुविधा पनि उपलब्ध छ ।