काठमाडौं / क्यानडा विरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । किङ सिटी स्टेडियममा बुधवार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । 

क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो। अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।  नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।