बिर्तामोड / पछिल्लो समय चोरहरूको नजर पेट्रोल पम्प तिर पर्न थालेको छ । नेपालमा पेट्रोलियम पर्दाथको मूल्य बढेसँग चोरहरूको नगर पेट्रोल पम्प तिर पर्न थालेको हो । 

यस्तै पछिल्लो तीन हप्तामा झापामा झण्डै आधा दर्जन पेट्रोलपम्पबाट लाखौँ रुपैयाँ चोरी भएको छ । गत जेठ ३१ गते देखि असार १७ गतेसम्ममा झापाको मेचीनगर, बिर्तामोड, कनकाई नगरपालिका र कमल गाउँपालिकामा गरी पाँच वटा पेट्रोलपम्पबाट १८ लाख ५१ हजार चोरी भएको हो । 

OM Sai Pathibhara Hospital

चोरी गरेको आरोपमा सङ्खुवासभाको मकालु गाउँपालिका –३ घर भइ हाल झापाको बिर्तामोड –१ बस्ने ३४ वर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

तामाङले गत जेठ ३१ गते राति झापाको कमल गाउँपालिका –५ स्थित गीता पेट्रोल पम्प भित्रबाट पाँचलाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसलगत्तै तामाङले गत ५ असारमा मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित प्रनिक आयल स्टोरबाट काउन्टरको झ्याल तोडफोड गरी ६ लाख रुपैयाँ, मेचीनगर –७ मदन बस्तीस्थित सनराइज सिमेन्ट प्रा.लिबाट एक लाख ५० हजार र सोही ठाउँको राधाकृष्ण इन्डष्ट्रिजबाट ४२ हजार रुपैयाँ  चोरी गरेको पाइएको छ । 

त्यस्तै असार ११ गते राति बिर्तामोड नगरपालिका –१ मा रहेको आसमा ट्रेडर्स एण्ड सप्लायर्स पेट्रोल पम्पबाट सात लाख ६३ हजार आठ सय ९६ रुपैयाँ र सोही दिन कनकाई नगरपालिका दुर्गापुर स्थित गरमकालि पेट्रोल पम्पबाट १५ हजार रुपैयाँ चोरी गरेको झापाका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए ।

यसैगरी तामाङले असार १७ गते राती १२ः०० बजे मेचीनगर –१३ तेलीबारीस्थित मेट्रो ट्रेडिङ पेट्रोल पम्पको झ्याल तोडफोड गर्दै गर्दा सोही पम्पका ट्याङ्कर चालक इलामको इलाम नगरपालिका –९ का २५ वर्षीय किरन दाहालले थाहा पाएका थिए । 

ट्याङ्कर चालक दाहाल र उनका साथीहरू समिर मिश्र र देवेन्द्र चौहाल तामाङको भएको ठाउँमा पुग्दा उनले दाहाललाई चोरी गर्न प्रयोग गरेको रड, पेचकसले प्रहार गरेको प्रहरीले जनाएको छ । 

तत्कालै मिश्र र देवेन्द्रले प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो । 

तामाङले दिएका बयानका आधारमा अन्य चोरीका घटना पनि सार्वजनिक भएको एसपी पोखरेलले जानकारी दिए ।