काठमाडौँ  / पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा हैजाको संक्रमण दर बढ्दो छ । गएको शुक्रबारसम्म काठमाडौँ उपत्यकाका ६ पालिकामा १७ जना हैजा संक्रमित बिरामी फेला परेका छन् ।

काठमाडौँ महानगरपालिकामा मात्र हैजाका १० संक्रमित फेला परेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको छ ।

OM Sai Pathibhara Hospital

ललितपुर महानगरपालिकाभित्र पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, चन्द्रागिरि नगरपालिकामा २, कीर्तिपुर नगरपालिकामा १, कागेश्वरी मनोहरा नगरपालिकामा १ र बूढानीलकण्ठ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

हैजा विशेषत ब्याक्टेरिया (हैजाको) मिश्रित पानी वा खानेकुराको उपभोग गर्दा संक्रमण हुने गर्दछ। यो छोटो समयमा तीब्र गतिमा फैलने गर्दछ। हैजा संक्रमित हुनेमा १५ देखि ३४ वर्षसम्मका ११ युवा छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पाँच वर्षमुनिका शिशुमा भने हालसम्म संक्रमण देखिएको छैन । 

दैनिकजसो घरबाहिरको खानेकुरा खाने, श्रमिक वर्ग, फिल्डमा खटिने व्यक्तिहरू धेरै संक्रमित भएको डा. पुनले बताए ।  

काठमाडौँमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणुहरू पानीमा मिसिन पुगेको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

दूषित पानीका कारण हैजा मात्र नभई अरू सङ्क्रामक रोगहरूले पनि आक्रमण गर्ने सम्भावना रहेकाले बासी तथा असुरक्षित खाना र पिउने पानीमा विशेष ध्यान विज्ञहरुले आग्रह गरेका छन् ।

पानी शुद्धिकरणका लागि घरमा प्रयोग गरिने फिल्टर, युरो गार्ड लगायत साधन मात्र पर्याप्त हुँदैन । ठूलो भाँडामा उमालेर सेलाउनु र प्रयोग गर्नु नै पानी शुद्धिकरणका लागि सबैभन्दा उत्तम उपाय भएको विज्ञहरू बताउँछन् ।