काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल खुम्लाटार पुगेका हुन् । 

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकाङ्क्षीहरू शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

OM Sai Pathibhara Hospital

भेटघाटको समन्वय गरेका संगीतकार चेतन सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको थियो । भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।

साथै हमालले पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्याइरहेको असरप्रति पनि प्रचण्डको ध्यानाकर्षण गराएका थिए । 

जवाफमा अध्यक्ष प्रचण्डले हमालको बुझाइमा आफ्नो समर्थन रहेको बताएका थिए ।