झापा / भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले गत वैशाख १७ गते लिउको लिखित परीक्षाको नतिजा विभागले सोमबार सार्वजनिक गरेको हो ।

भन्सार एजेन्टमा ६ सय ६० जना एजेन्ट थप गर्न लोकसेवा आयोगले परीक्षा लिएको थियो । जसमा आठ सय ६० जनाको नाम दोस्रो चरणका लागि छानिएको विभागले जनाएको छ । परीक्षामा नौ हजार भन्दा बढी परीक्षार्थीहरू सहभागी भएका थिए ।   

OM Sai Pathibhara Hospital

अब लोकसेवा आयोगले अन्तर्वार्ताबाट ६ सय ६० जनाका लागि सिफारिस गर्नेछ। अन्तर्वार्ताका लागि आयोगले असार ५ गतेदेखि असार १३ गतेसम्म मिति तोकेको छ । 

भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाएको हो । यसअघि भन्सार विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ । 

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले १६ चैत २०७७ मै दरखास्त आव्हान गरेको थियो । सुरुमा कोरोना र पछि विभिन्न कारण देखाउँदै परीक्षा स्थगित भइरहेको थियो । 

लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि ८६० जना छनोट भएका थिए। नयाँ एजेन्ट छनोट प्रक्रिया विवादित भएर अदालतमा मुद्दा समेत परेको थियो।

अब छनोट भएका भन्सार एजेन्टले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासीकर्ताको तर्फबाट मालवस्तुको घोषणा गर्न सक्नेछन्।